top of page
स्तनपानका फाइदाहरु

स्तनपानका फाइदाहरु

बच्चालाई जन्म दिएपछिका सुरुवाती हप्ताहरु कहिल्यै पनि सहज हुँदैनन् । बच्चालाई स्तनपान गराउने निर्णय तपाईमा नै भर पर्छ, तर यो पक्कै पनि साधारण भने छैन । त्यसले कठिन क्षणहरु पार लगाउनका लागि स्तनपानका बारेमा चिकित्सा अनुसन्धानबाट आएका तथ्यहरुको सार यहाँ प्रस्तुत गर्दैछौ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स सहित धेरै स्वास्थ्य विज्ञ तथा स्वास्थ्य संगठनहरुले ६ महिना नपुग्दा सम्म बच्चाको सबैभन्दा उपयुक्त पोषणको रुपमा अधिकतम स्तनपानलाई जोड दिँदै आएका छन् । बच्चा कम्तीमा पनि एक वर्षको नभए सम्म स्तनपानलाई निरन्तरता दिनुपर्छ (तपाईले चाहेको खण्डमा एक वर्षपछि पनि स्तनपान गराउन सक्नुहुन्छ) । ६ महिना भएपछि भने स्तनपानसँगै अन्य खाना पनि दिन सकिन्छ । बच्चाको लागि आमाको दूध नै सबैभन्दा पोसिलो खानेकुरा हो । दूध प्राकृतिक रुपमा नै विशेष तरिकाले बच्चाका लागि उत्पादन हुन्छ । बच्चाका लागि हुर्कन आवश्यक सबै पौष्टिक तत्व दूधमा नै हुन्छ भने अन्य चीजभन्दा बच्चाले दूध सजिलै पचाउन समेत सक्दछ । 
बच्चाका लागि स्तनपानका धेरै फाइदाहरु छन् । ती मध्ये केही यस प्रकार छन् । 
•    स्तनपानले वयस्कमा हुने मोटोपनको खतरालाई कम गर्दछ । 
•    आमाको दूधले दम, मधुमेह जस्ता दिर्घरोगको जोखिमलाई कम गर्दछ । 
•    स्तनपानले गर्दा विभिन्न भाइरस तथा ब्याकटेरिया विरुद्ध लड्ने गरी बच्चाको रोगप्रतिरोधात्मक  क्षमतामा वृद्धि हुन्छ भने संक्रमणको सम्भावना पनि कम हुन्छ । 
•    आमाको दूध खाने बच्चालाई स्वासप्रश्वास सम्बन्धी रोग सहित झाडापखाला र कानको संक्रमण पनि कम हुन्छ । 
•    अध्ययनहरुले के प्रमाणित गरेका छन् भने स्तनपानका कारण लिउकेमिया (ब्लड सेलमा हुने क्यान्सर) को जोखिम समेत कम हुन्छ । 
•    त्यस्तै बच्चाहरुको अचानक निधन हुने लक्षण (सिड्स) लाई पनि कम गर्दछ । 
•    स्तनपान गरेका बच्चाहरुको स्मरण शक्ति पछि सम्म तेज रहिरहन्छ । 
•    स्तनपानको फाइदा तपाई आमाहरुलाई पनि छ । 
•    स्तनपानमा संलग्नलाई बच्चा जन्माएपछि कम रक्तश्रावको सम्भावना हुन्छ । 
•    स्तनपानले गर्भावस्थाको तौल घटाउन समेत सहयोग गर्छ । 
•    अध्ययनहरुले के प्रमाणित गरेका छन् भने स्तनपानका कारण पाठेघरको क्यान्सर र मधुमेहको  जोखिम समेत कम हुन्छ । 
यी बाहेक, स्तनपानले तपाईको ठूलो धनराशी जोगाउँछ । तपाईले चाहेको बेला जुनसुकै समयमा अन्य भौतिक वस्तुमा भर नपरी बच्चाको भोक मेटाउन सक्नुहुन्छ । अझ सबैभन्दा माथि, स्तनपानका कारण बच्चा र तपाईबीच त्यस्तो  बिशेष सम्बन्ध स्थापना हुन्छ जसलाई कसैले पनि प्रतिस्थापन गर्नै सक्दैन ।

bottom of page