top of page

अब तपाईको बच्चा आफ्नो पहिलो जन्मदिन मनाउने तरखरमा छ । 
दिन बित्दै जाँदा तपाईले आफ्नो बच्चा अझ बढी स्वतन्त्र भएको थाहा पाउनु हुन्छ । ऊ अब आफै बस्न सक्ने हुन्छ । कुर्सी तथा अन्य वस्तुको सहयोगमा उभिन सक्ने क्षमता राख्दछ भने कहिलेकाँही कुनै पनि वस्तुको सहयोग विना नै केही बेर उभिन सक्छ । आफै खान सक्ने तथा बोतलबाट पिउन सक्ने हुन्छ । उसको शारिरिक गतिविधिमा क्रमश :सुधार आइरहेको हुन्छ भने विस्तारै ऊ दुई हातको सहयोगमा कुनै पनि वस्तु समात्न सक्ने हुन्छ । भाषाको कुरा गर्दा, तपाई बच्चासँग संवाद गर्नु हुन्छ भने ऊ प्रतिक्रियात्मक हुन थाल्छ । यसका लागि उसले केही शब्द समेत वा त्यस्तै केही प्रयोग गर्न थाल्दछ । नदेख्ने ठाउँबाट नाम सहित बोलाएमा समेत उसले प्रतिक्रिया जनाउँछ । त्यस्तै सामन्य निर्देशन पनि ऊ बुझ्न थाल्दछ । खेलकूदको प्रयोग सहित उसको बुझाइमा सुधार ल्याउने यो नै उपयुक्त समय हो । अब बच्चालाई थपडी बजाउन, आमा–बुबा कहाँ हुनुहुन्छ भनी सोध्न सकिन्छ । यस्ता गतिविधिले बच्चाको शब्दभण्डार वृद्धि हुनाका साथै उसको प्रदर्शनबाट तपाईले सन्तोष प्राप्त गर्न सक्नु हुनेछ । 

सामाजिक परिवेशको कुरा गर्दा, तपाई र वरपरको वातावरणबीच उसले भिन्नता महसुस गरेको थाहा पाउन सक्नु हुन्छ । बच्चाले अभिभावकको रुपमा तपाईलाई जनाउने प्रतिक्रिया र परिवारका अन्य सदस्य, साथीभाइ र नयाँ मानिसहरुलाई जनाउने प्रतिक्रियाबीच भिन्नता पाउन सक्नुहुन्छ । यस अवस्थामा नयाँ व्यक्तिलाई परिचय गराउँदा ऊ शंकालु तथा लजालु हुन्छ । तपाईकै वरपर बढी ममता तथा सुरक्षा पाउने भएकाले बच्चा तपाइकै नजिक बस्न चाहन्छ । 

नयाँ कुरा जान्न खोज्ने उसको भित्री चाहना क्रमश बढिरहेको हुन्छ, उसले नयाँ सामानहरुलाई मुखको सहयोगले मात्र होइन हातको प्रयोग गरी हल्लाएर, झारेर वा फुटाएर समेत परीक्षण गर्न थाल्दछ । लुक्ने खालको गतिविधिमा उसको नयाँ रुची बढ्न थाल्छ, यसका लागि खेलका बाकस र टेबलमुनिको स्थान उसको रोजाइमा पर्न सक्छ । प्रत्येक बच्चाको विकास आफ्नै गतिमा हुन्छ । माथि उल्लेख भएका समयसीमा र बच्चाको विकासको क्रम सामान्य अवस्थाको चित्रण मात्र हो । त्यसैले तपाईको बच्चाको वृद्धि विकासमा केही घटबढ भएमा आत्तिनु पर्दैन ।  तर तपाईको बच्चा एक वर्षको भइसक्दा समेत तल उल्लेखित प्रगति नभएमा चिकित्सकलाई सम्पर्क राख्नुपर्छ । 
आफै बस्न नसकेमा
साना वस्तुहरु औंलाले समाउन नसकेमा 
आफै खान नसकेमा 
संवादको समयमा आवाज निकाल्न नसकेमा 
सामान्य निर्देशन पनि नबुझेमा 
आफ्ना अभिभावक तथा वाँकी समक्ष भिन्न व्यवहार नगरेमा 

bottom of page